२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गौरीगञ्ज बालक मृत्यु प्रकरणः परिवारलाई साढे पाँच लाख दिइने


दमक, बैशाख २४ । गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेशकुमार महतोको परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निर्णय भएको छ ।

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

गौरीगञ्ज–६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बद्रीनारायण यादवले राहतस्वरूप पाँच लाख र किरिया खर्च ५० हजार रुपैयाँ पीडित परिवारलाई दिने कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिए ।

गौरीगञ्ज–६ खजुरगाछी निवासी रामदेव महतोको छोरा ११ वर्षीय महेशकुमार महतोको उपचारका क्रममा बैशाख २० गते शुक्रबार मृत्यु भएको थियो ।

शुक्रबार बिहान अन्दाजी ६ बजे झाडापखाला लागेपछि उनलाई उपचारका लागि गौरीगञ्ज अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सक तथा कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएका थिए ।

पीडित परिवार, आफन्त र स्थानीहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका साथै दिनभर ढुंगामुढा गरेका थिए । अस्पतालको झ्यालको सिसा, ढोका तथा अस्पतालले प्रयोग गर्ने सर्भर तथा अन्य भौतिक संरचनामा लाखौँको क्षति पुगेको छ ।

गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको रोहवरमा अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएपछि मृतकलाई पोस्टमार्टमका लागि धरान लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer