२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

कोशी प्रदेशमा कृषि एक्स्पोको तयारी, बिर्तामोडमा छलफल


बिर्तामोड, साउन २६ । नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको जनाएको छ ।

कोशी प्रदेशमै पहिलोपटक कृषिको क्षेत्रमा कृषि एक्स्पो गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको हो । आज झापाको बिर्तामोडमा बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा कृषि एक्स्पोबारे छलफल गरियो ।

कृषिका वस्तुगत संघका पदाधिकारी तथा सदस्यसहित सरोकारवाला निकायसँगको छलफलमा कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि एक्स्पो २०८१ को बारेमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिएका हुन् ।

कृषिमा सम्भावना बोकेको कोशी प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसमक्ष कसरी पु¥याउने भन्ने विषयमा नेपाल र भारतका कृषि विज्ञसँग छलफल चलाउने गरी कृषि एक्स्पोको आयोजना गर्न लागेको अध्यक्ष राउतले बताए ।

कृषिमा भित्रिएको नयाँ प्रविधिको बारेमा जानकारी गराउन र उत्पादन बढाउन बढीभन्दा बढी कृषकलाई कृषि एक्स्पोमा सहभागी गराउने लक्ष्य लिइएको अध्यक्ष राउतले बताए ।

कोशी प्रदेशको पहाडी जिल्लाका कृषकलाई ल्याएर कृषि एक्स्पोको अवलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष राउतको भनाइ छ ।

कोशी प्रदेश सरकारसँग सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको मोरङ जिल्लाको कटहरी गाउँपालिकास्थित कृषि थोक बजार केन्द्रमा भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि एक्स्पोको आयोजना गर्न लागेको जनाएको छ ।

पहिलोपटक गर्न लागिएको कृषि एक्स्पोले कृषकसहित सम्बन्धित निकायलाई फाइदा पुग्ने आशा सरोकारवाला निकायले लिएका छन् ।

एकरात बास बस्नेगरी पहाडी जिल्लाका किसानलाई कृषि एक्स्पोमा ल्याउने र अवलोकन गराएर फर्काउने कार्यक्रमको लागि लाग्ने खर्च नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले बेहोर्नेछ ।

कार्यक्रममा अध्यक्ष राउतसँगै महासंघ कोशी प्रदेश कोषाध्यक्ष सुवास आचार्य, प्रदेश सदस्य भविस श्रेष्ठ, विनोद बस्नेतले सहभागीका जिज्ञाशाको जवाफ दिएका थिए ।

कार्यक्रममा महासंघ कोशीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र खड्का, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, महासचिव नारायण चिमरिया, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली, उद्यमी गोमा भट्टराई, बिर्तामोड कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, व्यवसायी मीनप्रकाश मैनाली, राजेन्द्र थापा लगायतले आआफ्नो भनाइ राखेका थिए ।

कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

Adv footer