२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराबाट साढे सात करोड रुपैयाँको नदीजन्य सामग्री उत्खनन गरिने


बिर्तामोड, साउन २६ । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्रीको उत्खनन गरिने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठुलो नेते, सानो नेते र सुखानी खोला तथा त्यसमा मिसिने साना खोलाहरुबाट नदीजन्य सामग्री उत्खनन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्रमा रहेको खोलानालामध्ये १९ स्थानबाट करिब ३ लाख ३ हजार ५७५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिने परामर्शदाता कम्पनी भोलानाथ इन्जिनियरिङ डिजाइनर्स कन्सलटेन्सी बिर्तामोडले सुझाव दिएको छ ।

नदीजन्य सामग्री संकलन, व्यवस्थापन र बिक्री सम्बन्धी तीन स्थामा सार्वजनिक सुनुवाई गर्दै नगरपालिकालाई सुझाव दिइएको हो ।

छिमेकी पालिका बुद्धशान्तिसँगको सहकार्यमा १ करोड ४३ लाख ३७ हजार ७६८ रकम बराबरको नदीजन्य सामग्री उत्खनन गर्न परामर्शदाता कम्पनीले सुझाएको छ । त्यस्तै, अर्जुनधाराले ५ करोड ९९ लाख ८३ हजार ७६१ रकम बराबरको सामग्री उत्खनन गर्नेछ ।

सार्वजनिक सुनुवाईमा स्थानीयबासीको जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख बलदेवसिंह गोम्देनले ठेकेदारले मापदण्डभन्दा बढी उत्खनन गरेको पाइए पाँच गुणाभन्दा बढी जरिवाना गरिने सर्त राखिएको जानकारी दिए ।

उनले खोलानालामा बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्ने मजदुरले पनि नगरपालिकाले अघि सारेको मापदण्ड पालना नगरे कारबाही गरिने बताए । बिरिङ खोलामा मजदुरले समेत अत्यधिक गहिरो खाल्डो बनाएर सामग्री उत्खनन गर्दै आएका छन् ।

खोलाबाट उठेको राजश्व खोलामै खर्च गर्ने योजना रहेको र चाँडै कपर ड्याम निर्माण कार्यलाई यसपटक प्राथमिकतामा राखिएको गोम्देनले बताए ।

गत वर्ष खोला ठेक्का लगाउन ढिलाइ हुँदा अवैध रुपमा उत्खनन गरिएको पाइएकाले यसपटक बेलैमा खोला ठेक्का लगाइने उनले बताए । अवैध रुपमा कोही कसैले नदीजन्य सामग्री उत्खनन गरे कडा कारबाही गरिने नगरप्रमुखले बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, योजना अधिकृत हिमराज सेढाईं, भूगर्भविद् यदुनाथ तिम्सिना, वातावरणविद्, जनप्रतिनिधि, स्थानीयबासीलगायतको उत्साहजनक उपस्थिति रहेको थियो ।

स्थानीयबासीले नदीजन्य सामग्रीको उत्खनन र बिक्रीबाट प्राप्त हुने राजश्व सोही स्थानको विकास निर्माणमा खर्च गर्न सुझाव दिएका थिए ।

स्थानीयको सुझाव संकलन गरेको नगरपालिकाले नदीजन्य सामग्रीको उत्खननका लागि ठेक्का लगाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer