
बिर्तामोड, जेठ १ । झापा बिर्तामोडका स्थापित व्यवसायी निर्मल भट्टराई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

महासंघको पहिलो कार्यसमिति बैठकले महासंघको विधानको दफा ५३.२ ई अनुसार बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य भट्टराईलाई सदस्यमा मनोनयन गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भट्टराईलाई मनोनयन गरिएको जानकारी दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

महासंघको गतिविधिलाई प्रभावकारी बनाउन भट्टराईबाट महत्वपूर्ण योगदान र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरिएको छ । भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।

उनी लामो समयदेखि उद्योग, व्यापार तथा कृषि व्यवसायसँग आबद्ध रहँदै आएका छन् । व्यावसायिक क्षेत्रमा सक्रिय भट्टराईको मनोनयनले कोशी प्रदेशको निजी क्षेत्रलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

व्यावसायिक क्षेत्रसँग लामो समयदेखि आबद्ध भट्टराई उद्योग, व्यापार तथा निजी क्षेत्रका समस्याका विषयमा सक्रिय रूपमा काम गर्दै आएका छन् ।
मनोनयनसँगै कोशी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले व्यावसायिक हकहित, लगानी प्रवद्र्धन तथा आर्थिक विकासका क्षेत्रमा उनको थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरेका छन् ।





