
बिर्तामोड, जेठ १ । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आँकलन गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आँकलन गरिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत समेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आँकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस वर्ष मनसुन सुरुको अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए पनि सरदर तापक्रम वृद्धि हुनसक्ने आँकलन छ ।

यो अवस्थाले केही उच्च हिमाली स्थानहरूमा हिमताल विष्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुजन्य विपद्को जोखिम अधिक हुने सम्भावना छ ।
त्यसैगरी, उक्त अवधिमा दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आँकलनले देशको दक्षिणी तराई भू–भागमा सर्वसाधारण अत्यधिक गर्मी वा तातो हावाको लहर (लु) बाट समेत प्रभावित हुने अनुमान छ ।
विपद् प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ मा उल्लेख भएअनुसार यस वर्षको मनसुन अवधिमा सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश हुने देखिन्छ ।
कोशी प्रदेशमा ८ हजार ८६४ घर परिवारका ३८ हजार ७३६ जना यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने आँकलन छ ।





