२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीका हजाम हत्याकाण्ड : यसरी भयो प्रेम र हत्या


बिर्तामोड, कात्तिक ५ । झापाको बाह्रदशी-५ फूलबारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा कम रोचक छैन । विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरुको क्राइम स्टोरी सुरु भएको देखिन्छ ।

बाह्रदशी–५ घोडामारा माइत भएकी मुना बाह्रदशीको कञ्चनज्योति अंग्रेजी विद्यालय पढ्थिइन् । त्यस स्कुल बसका चालक (हाल मुनाका श्रीमान्) अन भन्ने अशोक राजवंशी थिए भने मारिने राजेश हजाम थिए सहचालक ।

स्कुल बसमा चढेर विद्यालय आउजाउ गर्ने मुना कक्षा ७ मा पढ्दाखेरी नै अशोक र राजेश दुवैले मन पराएका थिए । हेर्दा राम्री र मानिससँग छिट्टै नजिकिने स्वभाव मुनाको थियो ।

दुवैले मन पराए पनि आखिर अशोकले बाजी मारे । कक्षा ९ मा पुगेकी मुनालाई उनले पट्याएर प्रेम विवाह गरे । तर, राजेशसँग बोलचाल भइनै रह्यो ।

अशोक आफ्नो परिवारको लागि मरिमेट्दै गए । उनले मुना र आफ्ना पाँच वर्षका छोराको लागि बाह्रदशी–६ सिमलबारीमा जग्गा किनेर घर बनाइदिए अनि आफू कमाउन साउदी अरब लागे ।

पाँच वर्षका नाबालक छोरासँग मुनालाई एकान्त घरमा बस्न गाह्रो हुन्छ भनेर उनका कान्छा देवर २० वर्षीय गणेश भनिने राहुल राजवंशी रुङ्न आउन गर्थे । घर रुङ्न आउने गरेका गणेशले भाउजूको मोबाइल चलाउने क्रममा राजेशसँग म्यासेन्जरमा कुराकानी भइरहेको थाहा पाए ।

उनले आफू मुना बनेर कुराकानी गर्न थाले । त्यसक्रममा उनीहरुबीचको सबै कुरा थाहा पाएछन् । उनले सप्रमाण देखाएर सोधपुछ गरेपछि मुना वास्तविकता बताउन बाध्य भइन् ।

‘त्यहाँबाट इगो सुरुवात भएको देखिन्छ’ अनुसन्धानको नेतृत्व गरेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले भने । विष्टका अनुसार इगो साँध्न राजेशका साथीसमेत रहेका गणेशले जेठ १५ गते राति करिब ११ः३० बजेतिर मेसेन्जरमा कल गरी उनलाई बोलाएका रहेछन् ।

कल आएपछि उनी करिब ३ किलोमिटर टाढा मुनाको घर आएका थिए । ‘राति ११ बजेतिर कल आएर राजेश घरबाट गएको उनका परिवारका सदस्यहरुले बताएका छन्’, विष्टले भने, ‘त्यो कल गणेशकै हुनुपर्छ ।’

सोही दिनदेखि राजेश गायब भए । त्यसको तीन दिनपछि राजेशका परिवारले आफ्ना छोरा बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए । हुलियासहित निवेदन परेपछि सोही दिनदेखि बिर्तामोड प्रहरीले खोजी सुरु गरेको थियो ।

जब छिमेकी आशिष थापाका बुबाले मादक पदार्थ सेवन गरेका बेला राजेशलाई मारेको कुरा खुस्काए, त्यसपछि मात्र राजेश आफैँ बेपत्ता नभई बेपत्ता बनाएको प्रहरीले आशंका गर्यो ।

त्यसपछि गहन अनुसन्धान थालेको प्रहरीले सबैभन्दा पहिला मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीसँग सम्पर्क गरेको डिएसपी विष्टले बताए । नरेशले आफ्ना काका समीर राजवंशीको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थाल्यो ।

हत्याकाण्डकी मुख्य पात्र मुनालाई प्रहरीले केरकार गर्दा सुरुमा इन्कार गरेकी उनले पछि सबै कुरा बताएपछि राजेशको हत्या नै भएको हो भन्ने निष्कर्षमा प्रहरी पुग्यो । तर, प्रहरीलाई प्रमाण हात लागेको थिएन ।

आरोपितहरुको बयानका आधारमा प्रहरीले मुनाको घर उत्खनन् गर्न थाल्यो । त्यस क्रममा राजेशको गन्जी, डोरी, सलको टुक्रा र दाउ भेट्टाएपछि प्रहरी उत्साहित बन्यो । तर, दुई दिनसम्म मुनाको घरआँगन खन्दासमेत राजेशको शव भेटिएन ।

घरबाट शव उत्खनन् गरी बिरिङको बगरमा गाडेको सुइँको पाएपछि प्रहरी टोलीले बिरिङको बगर खन्न थाल्यो । काँसघारी भएको बिरिङको बगर खन्दासमेत प्रहरीले प्रोपर स्पोर्ट लोकेसन थाहा पाउन सकिरहेको थिएन ।

जब चौथो दिन आरोपितहरु समीर र मुनालाई दुबई भागेका गणेशसँग फोनमा कुराकानी गर्न लगाएर शव गाडेको ठाउँबारे यकिन गर्न लगाएपछि प्रहरीलाई सफलता मिलेको थियो ।

हत्या भएको करिब ४ महिनापछि गत असोज २० गते साँझ राजेशको शव भेटिएको हो ।

घटना यसरी भयो

जेठ १५ गते राति गणेशले राजेशलाई बोलाएपछि आफ्नो घरमा चोर आयो भनेर उनले आफ्ना दाजु समीर र भतिज नरेशलाई समेत बोलाएका थिए । पहिला उनीहरुले राजेशलाई कुटपिट गरे ।

त्यसपछि सलले राजेशलाई हातखुट्टा बाँधेर चक्कु प्रहार गरी मारेको उनीहरुको बयान रहेको प्रहरीले बताएको छ । हत्यापछि उनीहरुले राजेशको शव रातभरि पलङको मुनि राखेका थिए । समीर, गणेश र नरेश आआफ्नो घर गएपछि त्यो रात मुनाले अर्को कोठामा सुतेर एक्लै कटाएकी थिइन् ।

भोलिपल्ट दिनभरि पलङमुनि नै रहेको शवलाई उनीहरुले अर्को रात किचन कोठामा गाडेका थिए । अरु कोठा ढलाई भए पनि किचन कोठा ढलाई गरिएको थिएन । पछि शव त्यहाँबाट निकालेपछि भने उनीहरुले किचन पनि ढलाई गरेका थिए ।

एक दिन त्यही किचनमा गाडिएको शवलाई अर्को रात उनीहरुले खनेर बिरिङको बगर लगेका थिए । मुनाका श्रीमान् अशोकले विदेशबाट ल्याएर राखेकोे सुटकेशमा हालेर शवलाई मोटरसाइकलमा समीर र गणेशले बिरिङको बगरमा लगेर गाडेका थिए ।

ती दुवैले मिलेर शव गाढेका कारण ‘स्पोर्ट लोकेसन आइडेन्टिफाइ’ गर्नका लागि विदेशमा रहेका गणेशसँंग समीरलाई फोनमा कुराकानी गर्न लगाउनु परेको डिएसपी विष्टले जानकारी दिए ।

मुना र राजेशबीचको चक्करका बारेमा आक्रोशित भएका देवर गणेशसँग पनि मुनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । समान उमेरका र एउटै घरमा बस्दै आएका दुवैबीच सम्बन्ध भएर नै राजेशसँगको सम्बन्ध थाहा पाएर गणेश यति धेरै आक्रोशित बन्न पुगेको र घटना गराउन बल पुगेको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्वमा गरिएको अनुसन्धानमा मातहतका इलाका प्रहरी कार्यालय घैलाडुब्बा र प्रहरी चौकी फूलबारीले सहयोग गरेका थिए ।

प्रहरीले राजेशको हत्यामा संलग्न मुना, उनका देवर समीर र भतिज नरेशलाई पक्राउ गरी कारबाही अघि बढाएको छ भने दुबई भागेका गणेशलाई झिकाउन उनको पासपोर्टलगायतका कागजात संकलन गरिरहेको जनाएको छ ।

-प्रतिदिनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer