२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ


बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् ।

बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको छ ।

पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए । प्रदेश रजिस्ट्रार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको उनले जानकारी दिए ।

हाल उनी जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा छन् । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिए ।

२०७९ साल मंसिर ४ मा निर्वाचन हुनुपूर्व खनालले आफ्ना छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्न पनि आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए ।

तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि पीडितहरूले नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । भदौको तेस्रो सातातिर खनालविरुद्ध उजुरी परेको थियो ।

केही महिनाअगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा झिकाएर केरकार गरेका थिए । उक्त सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् ।

अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer