२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सहकारी नेता अधिकारीमाथि रकम हिनामिनाको आरोप


बिर्तामोड, कात्तिक २७ । झापा भद्रपुरका सहकारी नेता घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।

बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष हुँदा उनले ४ लाख ६० हजार २०० रुपैयाँ हिनामिना गरेको आरोप लागेको हो । उक्त रकम फिर्ताका लागि ताकेता गर्दा पनि नआएको सहकारीका पदाधिकारीले जनाएका छन् ।

अधिकारी नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष हुन् । उनी संघ स्थापना गरेदेखि २ कार्यकाल झापा अध्यक्ष भएका थिए ।

सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण तिवारीले अनियमितता गरेको पाइएको बताए । अनियमितता गरेको रकम फिर्ता गर्न सञ्चालक समितिले ताकेता गरेपछि अधिकारीले ३ लाख १६ हजार ६९३ रुपैयाँको चेक २०८० पुस ४ गते दिएका थिए । तर, सिद्धार्थ बैंक चन्द्रगढी शाखाको उक्त चेक साटिएन ।

चार लाख ६० हजार २०० रुपैयाँ हालसम्म हिसाब मिलान नभएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमा भनिएको छ ।

यसैबीच, उक्त सहकारीले लगानी गरेको ३५ लाख कर्जा पनि जोखिममा परेको छ । १ करोड ८८ लाखको ३ हजार ८३५ रुपैयाँ सम्पत्ति र दायित्व भएको सहकारीले प्रक्रिया पूरा नगरी साइनो साकोसलाई २०७७ पुस १३ गते गरेको ३५ लाख लगानी अहिले पनि उठेको छैन ।

लेखा सुपरीवेक्षण समितिले उक्त ऋण घनश्याम अधिकारी अध्यक्ष रहेको अवस्थामा तत्कालीन वरिष्ठ उपाध्यक्ष तथा हालका सञ्चालक समिति अध्यक्ष तुलाराम न्यौपाने ऋण उपसमिति संयोजक र सदस्यद्वय रेवती खनाल, दिपक भण्डारी समेतको उपस्थितिमा ऋण स्वीकृत गरी लगानी गरिएको ऋणमा तमसुक समेत नगरी ऋण लगानी गरेको उल्लेख गरेको छ ।

स्रोतले दिएको जानकारीअनुसार साइनो सहकारी अहिले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर कार्यालय नै बन्द भएको छ । ‘त्यो पैसा उठ्ने अवस्था नै देखिएन,’ लेखा सुपरीवेक्षण समितिका संयोजक तिवारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer