२०८३ बैशाख ३१ बिहीबार
Jhapa Today
Adv top

पत्रकार महासंघको निर्वाचनको सम्पूर्ण तयारी पूरा


बिर्तामोड, मंसिर २७ । भोलि मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पु¥याइसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको खनालको भनाइ छ ।

केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलाबी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्नेछन् ।

मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् ।

मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रसारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ ।

झापाको मतदानस्थल अग्रसेन भवन

नेपाल पत्रकार महासंघ झापा शाखाको मतदान शनिश्चरे रोडमा रहेको अग्रसेन भवनमा हुनेछ । झापामा अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका लागि टीकाराम नेती, डिकेश लामा, राजेन्द्र गौतम र एकराज गिरीले उम्मेदवारी दिएका हुन् ।

झापा शाखाको २० सदस्यीय कार्यसमितिका ३३ जनाले उम्मेदवारी दिएका छन् भने १५ जना प्रदेश परिषद सदस्यका लागि १४ जनाको मात्र उम्मेदवारी परेको छ । त्यस्तै, ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको नामावलीअनुसार उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने, महिला उपाध्यक्षमा विनिता गौतम (विनिशा शर्मा), सुशीला संग्रौला र सुनिरा मैनालीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सचिवमा राजु पाठक र प्रदिप परियार, सहसचिवमा नरेन्द्रकुमार ढकाल र रमेश तिवारी, सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जनको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा पुष्पलाल खड्का, शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् । १५ जना प्रदेश परिषद सदस्यका लागि १४ जनाले मात्र उम्मेदवारी दिएकोमा सबैजना निर्विरोध भएका छन् ।

पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।

Adv footer