
बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिका–२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा नगरमै पहिलो भएको छ । सो विद्यालयका ७० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

ग्रेडेड विद्यार्थीलाई आज एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ । साथै, सामाजिक अभियन्ता दिपक ओलीलाई सम्मानपत्र प्रदान गरिएको छ ।

सरस्वतीका २० जना विद्यार्थी एसइइमा सहभागी भएकोमा १४ जना ग्रेडेड भएको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी आशिका अधिकारीलाई नगद पाँच हजारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने उदाहरण सरस्वती माध्यमिक विद्यालयले प्रस्तुत गरेको बताए ।

समाजसेवी ओलीले एसइइ तयारीमा रहेका विद्यार्थीहरूलाई परीक्षाअघि लगातार ४५ दिनसम्म निःशुल्क खाना र खाजा खुवाएका थिए । विद्यार्थीहरूले ओलीको सहयोग, प्रेरणा र हौसलाकै कारण आफूहरू राम्रो नतिजा ल्याउन सफल भएको बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक निर्मल खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सूर्य अधिकारीले गरेका थिए ।






