
बिर्तामोड, फागुन १९ । झापाको गौरादहमा काका ससुराले आफ्नै भतिज बुहारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । कुटपिट गर्ने काका ससुरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह–१ सितापुरीका ५१ वर्षीय धनप्रसाद न्यौपाने रहेका छन् । उनले आज बिहान अन्दाजी ७ः३० बजे ३४ वर्षीया बुहारी कोपिला न्यौपानेलाई कुटपिट गरेका थिए ।

लेनदेनको विषयमा विवाद भई कुटपिट भएको र धनप्रसादले दाउराले घाँटी र हातमा प्रहार गरी कोपिलालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइतेलाई मेडिम्याक्स अस्पताल गौरादहमा ल्याई उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने धनप्रसादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






