
बिर्तामोड, बैशाख २६ । झापा बिर्तामोडको चर्चित सतानु पैनीको जग्गा किनबेचका लागि एकै व्यक्तिले पटकपटक गरेर दुई करोड रुपैयाँभन्दा बढी बैना रकम लिएको सार्वजनिक भएको छ ।

तारानिधि तिम्सिना नामका व्यक्तिले सतानु पैनी बिक्री प्रयोजनका लागि तीनजनाबाट बैनाबापत २ करोड ४० लाख रुपैयाँ लिएको बताइएको छ । यसको दाबी पूर्वजनप्रतिनिधि गोपी गिरीले गरेका छन् ।

जालझेल गरी सतानु पैनीको एक बिघा ३ कठ्ठा जग्गा आफ्नो नाममा पारेका उनले सुकुमबासी र अन्य निजी घर भएको सतानु पैनी बिक्री गर्न धेरैजनासँग रकम लिएको बताइन्छ ।

२०६० साल पुस ११ गते तिम्सिनाले सुकुमबासीहरुसँग ४५ हजार कठ्ठाका दरले सतानु पैनीको जग्गा बैना गरेका थिए । उनले त्यसबेला सुकुमबासीहरुबाट दुई हजार ४ सय रुपैयाँ लिएको पाइएको छ ।
२०५३ सालमा भुपाल किराती नेतृत्वको आयोगबाट अनुकुमारी लिम्बुनीले सतानु पैनीको १ बिघा ११ कठ्ठा जग्गा आफ्नो नाममा पारेकी थिइन् । उक्त जग्गा अर्का जग्गनधनी खतिवडा हुँदै तारानिधि तिम्सिनासम्म आइपुगेको हो ।


पैनीको सार्वजनिक जग्गा नम्बरी बनाएको थाहा पाएपछि तत्कालीन अनारमनी नगरोन्मुख गाविसले तिम्सिनामाथि मुद्दा दायर गरेको थियो । गाविसले मुद्दा जितेर करिब ७ फुट चौडाइ हुनेगरी ११ कठ्ठा जग्गा पैनी कायम गराएको थियो । त्यसबेला बाँकी १ बिघा ३ कठ्ठा जग्गा तिम्सिनाकै नाममा रहेको थियो ।





