
बिर्तामोड, बैशाख २६ । सरकारले झापाका चारवटासहित १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ । झापाका अधिकांश पालिका डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ ।

झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकालाई सतर्कता अपनाउन पत्राचार गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्णप्रसाद दाहालले बताए ।

सरकारले झापाका चारवटा पालिकालाई सतर्कता अपनाउन पत्राचार गरे पनि दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका पनि डेङ्गुको उच्च जोखिममा रहँदै आएका छन् ।

अन्य जोखिममा रहेका पालिकामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, सुनसरीको धरान उमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन् ।
“हामीले पुसयता सबै स्थानीय तहको डेङ्गुको सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ”, दाहालले भने, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गुको सङ्क्रमण देखिएका छन् । तर, यी १३ स्थानीय तहमा पाँचवटासम्म सङ्क्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौँ ।”

उनका अनुसार पुसयता करिव ६ सय जनामा सङ्क्रमण देखिएको थियो । शाखा प्रमुख डा दाहालले अहिलेको पानीले केही सङ्क्रमण नबढाउने बताए । डेङ्गुको सङ्क्रमण विशेषगरी सहरी तथा बजार क्षेत्रमा बढी हुने गरेको छ ।





