
भद्रपुर, फागुन २३ । झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि झापाको भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।
एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे ।
आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए ।
समितिका सदस्य चेतामणि खनाल र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री मण्डल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा टावर टेम्पल स्कुलका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग दुई हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेको समितिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पहिलो दिन मेचीनगर अगाडि
यसैबीच, पहिलो दिन चारवटा विधाको परिणाम आएको छ । एथलेटिक्स प्रशिक्षक गोपल यादवका अनुसार १०० मिटर दौड, ज्याभलिन थ्रो, सटपुट थ्रो र १५०० मिटर दौडको परिणाम आएको हो ।

१०० मिटर दौड छात्रतर्फ मेचीनगरका सुजन मण्डल प्रथम, झापाका मोहमद शेख दोस्रो र अर्जुनधाराका सायल खड्का तेस्रो भए । छात्रातर्फ शिवसताक्षीकी पुष्पावती चौधरी प्रथम, अर्जुनधाराकी दिपिशा राई दोस्रो र कमलकी मोनिका मुर्मू तेस्रो भए ।
त्यस्तै, ज्याभलिन थ्रो छात्रातर्फ बिर्तामोडकी निशा भट्टराई प्रथम, गौरीगञ्जकी दिपिका हेमरम दोस्रो र अर्जुनधाराकी सिर्जना तामाङ तेस्रो भए । छात्रतर्फ मेचीनगरका सुकराज तामाङ प्रथम, कमलका खेम खत्री दोस्रो र कनकाईका निश्चल चौधरी तेस्रो भए ।
त्यस्तै, सटपुट थ्रो छात्रतर्फ दमकका रञ्जीत रसाइली प्रथम, अर्जुनधाराका दिपेश चौधरी दोस्रो र शिवसताक्षीका सोबिन राई तेस्रो भए । छात्रातर्फ मेचीनगरकी सिमरन राई प्रथम, दमककी मिसिका धिमाल दोस्रो र बिर्तामोडकी निशा भट्टराई तेस्रो भए ।
त्यस्तै, १५०० मिटर दौड छात्रातर्फ बाह्रदशीकी रुपमाया भट्टराई प्रथम, दमककी इदिका देवाल दोस्रो र कमलकी पासाङ चोमु शेर्पा तेस्रो भए । छात्रतर्फ झापाका करिमुदिन मिया प्रथम, बाह्रदशीका डिजनकुमार शाह दोस्रो र बिर्तामोडका सागर तामाङ तेस्रो भए ।
