
बिर्तामोड, चैत १० । सामाजिक व्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले आफ्नो जन्मोत्सव विद्यार्थीसँग मनाएका छन् ।
गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।
सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका छन् ।
आज परेको राजु गिरीको जन्मदिनको अवसर पारेर उनकी श्रीमती मिना गिरीसहित गिरी दम्पतीले उक्त विद्यालयमा पुगेर विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।
सो विद्यालयमा ६३ जना विद्यार्थीहरु अध्ययनरत छन् । पोशाक वितरण कार्यक्रमको सहजीकरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) ले गरेका थिए ।
गिरीले प्रत्येक वर्ष आफ्नो, श्रीमती र छोराछोरीको जन्मदिन तथा आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा दीनदुःखीलाई ह्विल चियर, विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाउँदै आएका छन् ।
स्थानीय ज्येष्ठ नागरिक तोयानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सबैले फजुल खर्च गरेर मनाउने जन्मदिनको साटो दीनदुःखीको सहयोग गरेर मनाउन आग्रह गरेका छन् ।
उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्दै जाने प्रतिबद्धता गरेका छन् ।