२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

डक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार


बिर्तामोड, जेठ २८ । धिमाल जातिको पहिलो चिकित्सक डक्टर सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिले उनलाई पुरस्कार प्रदान गर्ने भएको हो ।

केन्द्रले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार यो वर्ष डक्टर सुजनालाई प्रदान गरिने भएको हो । धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिले सुजनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकोसमितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए ।

दमक-२ खरखरे निवासी सुजनाले गण्डकी मेडिकल कलेज पोखराबाट ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गरेकी हुन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उत्तीर्ण गरेर समुदायबाटै पहिलो डक्टर हुन सफल भएकाले उनको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको हो ।

केन्द्रका महासचिव मातृका धिमालका अनुसार हरेक वर्ष असार २ गते जातिरी–सिरिजात पर्व समापनको अवसरमा आयोजित कार्यक्रमको अवसरमा यो पुरस्कारबाट एकजना युवा प्रतिभालाई सम्मान गरिँदै आएकोे छ ।

युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिँदै आएको उनले जानकारी दिए ।

सम्मानित व्यक्तित्वलाई नगद, प्रमाणपत्र र आल्गी धावा ओढाएर सम्मान गर्ने गरिएको महासचिव मातृकाले जानकारी दिए ।

यसअघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वती धिमाललाई उक्त प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

Adv footer