२०८२ साउन ६ मंगलबार
Jhapa Today
Adv top

गौरीगञ्जको एम्बुलेन्समा टायल्स ओसारपसार !


बिर्तामोड, साउन ६ । गौरीगञ्ज गाउँपालिकाको नाममा सञ्चालित एम्बुलेन्स घर निर्माण सामग्री टायल्स ओसारपसारमा संलग्न रहेको भेटिएको छ ।

सोमबार दिउँसो गौरादहबाट फर्किंदै गरेको गाउँपालिकाको प्र.१–०१–००१ झ २४६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर गरिएको जाँचमा २० कार्टुनभन्दा बढी टायल्स भेटिएको हो ।

गोप्य सूचनाको आधारमा गरिएको निगरानीपछि एम्बुलेन्समा लुकाएर निर्माण सामग्री राखिएको पुष्टि भएको हो । सो एम्बुलेन्सका चालक दिपेन्द्र गिरीमाथि यसअघि पनि सरकारी सवारीसाधनको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

घटनाबारे प्रतिक्रिया दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले एम्बुलेन्सको यस्तो प्रयोग गैरकानुनी भएको स्पष्ट पारे । ‘एम्बुलेन्स केवल बिरामी बोक्न प्रयोग हुने सवारी हो,’ थापाले भने, ‘यदि दुरुपयोग भएको हो भने तुरुन्त छानबिन गरेर आवश्यक कारबाही हुन्छ ।’

नेपालको यातायात व्यवस्था ऐन २०४९ अनुसार विशेष प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनलाई अन्य प्रयोजनमा प्रयोग गरेमा चालक अनुमतिपत्र खारेजीदेखि आर्थिक जरिवानासम्मको व्यवस्था छ ।

यदि सार्वजनिक स्रोतबाट खरिद गरिएको सवारीसाधन हो भने भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान हुन सक्ने कानुनी प्रावधान समेत छ ।

घटनापछि स्थानीय नागरिकहरूले गाउँपालिकामा औपचारिक उजुरी दिने तयारी गरेका छन् ।

Adv footer