
बिर्तामोड, साउन ७ । प्रादेशिक अस्पताल भद्रपुरमा निःशुल्क पाइने रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बिरामीहरू निजी फार्मेसीबाट महँगोमा किन्न बाध्य भएका छन् ।

अस्पतालमा विगत एक महिनादेखि सो सेवा बन्द छ । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको प्रादेशिक अस्पतालमा रेबिजको भ्याक्सिन अभाव हुँदा दैनिकजसो उपचारका लागि आउने बिरामी उपचार नपाई फर्किन बाध्य बनेका छन् ।

असार ३ गतेदेखि बन्द भएको सेवा अझै सुरु नएको हो । सरकारले प्रादेशिक, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रेबिजको भ्याक्सिन निःशुल्क रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रादेशिक अस्पतालमा निःशुल्क पाइने भ्याक्सिन उपलब्ध नहुँदा बिरामीहरू अस्पताल वरिपरिका निजी फार्मेसीहरूबाट साढे ६ देखि ७ सय रुपैयाँसम्म खरिद गर्न बाध्य छन् ।

रेबिज भ्याक्सिनको अभावका कारण दैनिक जसो अस्पताल पुग्ने बिरामीहरू निराश भएर फर्कनु परेको छ । अस्पताल प्रशासनले समेत यसप्रति आवश्यक पहल नगरेको बिरामीहरूको आरोप छ ।

अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलका अनुसार मासिक ५०० भ्याक्सिन अस्पतालमा खपत हुन्छ । मन्त्रालयले मासिक रुपमा भ्याक्सिन पठाउँथ्यो । माग गरिएको भ्याक्सिन मन्त्रालयले नपठाउँदा सूचना टाँस गरेर सेवा बन्द गर्नुपर्ने सूचना अधिकारी पोखरेलको भनाइ छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले मन्त्रालयले कोलोजिङ भन्दै भ्याक्सिन नपठाउँदा सेवा प्रभावित हुन पुगेको बताए । मन्त्रालयलाई लिखित रुपमा जानकारी गराइसकेको अवस्थामा पनि अझै भ्याक्सिन आइपुगेको छैन । यस बारेमा फेरि जानकारी गराउने उनको भनाइ छ ।
कोशी सरकार, स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभावबारेमा आफूलाई जानकारी नभएको बताए । यसबारे तुरुन्त आपूर्ति विभागमा जानकारी गराउने उनको भनाइ छ ।