२०८२ मंसिर १९ शुक्रबार
Jhapa Today
Adv top

फार्मेसीमा बढ्दै प्रतिबन्धित औषधिको कारोबार, चार महिनामा पाँचजना पक्राउ


बिर्तामोड, साउन २३ । झापामा औषधि व्यवसायीहरु नै प्रतिबन्धित औषधिको कारोबारमा संलग्न भएको पाइएपछि प्रहरीले एक्सन लिन थालेको छ । पछिल्लो तीन सातायता चारजना औषधि व्यवसायी पक्राउ परिसकेका छन् । एकजना बैशाखमा पक्राउ परेका छन् ।

नेपालमा प्रतिबन्ध लगाइएको, अस्पताल फार्मेसीहरुमा मात्र बिक्री गर्न मिल्ने तथा अन्यत्र औषधि पसलमा बिक्री गरेको पाइए प्रहरीले सिधै बरामद गर्न मिल्ने ट्रमाडोलजस्ता औषधिको कारोबार बढेपछि चिन्ता थपेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र झापाका इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकले ट्रमाडोलसहित पक्राउ परेका व्यक्ति औषधि व्यवसायी भएपछि व्यवसायी संघ पनि चिन्तित बनेको छ । संस्था नै बद्नाम हुनेगरी व्यवसायी प्रहरी फन्दामा परेपछि सचेतना आवश्यक भएको ठहर गरिएको छ ।

प्रहरीले साउन १ गते बिर्तामोडबाट दुई लाखभन्दा बढी क्याप्सुल ट्रमाडोल बरामद गरेको थियो । जसको मालिक भानुभक्त खरेल हुन् । उनी औषधि व्यवसायी हुन् । खरेलका कामदार विनोद घिमिरे पक्राउ परिरहँदा उनी भने फरार छन् ।

त्यस्तै, साउन २१ गते राति कमल ६ का विष्णुप्रसाद बगालेको घरमा प्रहरीले ट्रमाडोल बरामद गर्यो । पक्राउ पर्ने बगालेले बिनाअनुमति पसल सञ्चालन गरेको पाइएको छ भने खड्का दमक मेडिकल डिस्ट्रिब्युटरका सञ्चालक हुन् ।

अर्का औषधि खड्का लागुऔषध बिक्री गरेबापत दुईपटक कारबाहीमा परिसकेका छन् । उनलाई औषधि व्यवस्था विभाग विराटनगरले पनि कारबाही गरेको थियो ।

त्यस्तै, हिजो बिर्तामोडबाट ट्रमाडोलसहित पक्राउ परेका राजेन्द्र पन्धाक पनि औषधि व्यवसायी हुन् । उनी पिआर मेडी सप्लायर्स नामको फार्मेसीका सञ्चालक हुन् । पन्धाक खरेलको साझेदार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाह्रदशी–५ फूलबारीको विक्रम विकास मेडिकलबाट बैशाख १७ गते नियन्त्रित औषधिसहित ३९ वर्षीया बन्दना पोखरेल पक्राउ परेकी छन् । उनका श्रीमान विक्रम राजवंशीलाई कचनकवल गाउँपालिकाले जागिरबाट निकालेको छ ।

Adv footer