२०८२ भदौ २३ सोमबार
Jhapa Today
Adv top

जेनजीको प्रदर्शन रोक्न दमकमा गोली चल्यो


बिर्तामोड, भदौ २३ । जेनजीको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई रोक्न प्रहरीले दमकमा गोली चलाएको छ ।

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा करिव एक दर्जन घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ७ जना घाइते भएको प्रदर्शनमा संलग्न रोशन भण्डारीले बताए । त्यसमध्ये एकजनाको अबस्था गंभीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएको छ । गंभीर अवस्थाका एकजना युवकलाई धरान पठाइएको छ । त्यस्तै केहीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।

प्रहरीतर्फ इलाका प्रहरी कार्यालय दमकका इन्चार्ज डीएसपी रामप्रसाद तिमल्सिनासहित ५ जना घाइते भएका छन् । उनीहरुलाई ढुंगा लागेको छ । घाइतेहरुको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बूले बताए ।

आज बिहान १०ः३० बजेदेखि दमक –६ स्थित आकाशे पुल अगाडिबाट जेनजी दमकको आयोजनामा स्थानीय युवा सौरव न्यौपानेको नेतृत्वमा युवाहरु पर्वत वस्नेत, रूपेश कार्कीलगायत करिब ५०० जनाको उपस्थितिमा भ्रष्टाचार र सरकारले सामाजिक संजाल बन्द गरेको विरुद्धमा प्रदर्शन शुरु गरिएको थियो ।

दमक–१ स्थित दमक नगरपालिकाको कार्यालय अगाडि आई नाराबाजी गर्दै बिरोध प्रदर्शन गर्ने क्रममा मध्यान्ह १२ बजे प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । दमक नगरपालिका कार्यालय अगाडि पार्किङ गरेर राखेको एउटा मोटरसाइकलमा आन्दोलनकारीहरुले आगजनीसमेत गरेका छन् ।

Adv footer