बिर्तामोड, असोज २४ । प्रहरीले झापाको बिर्तामोडबाट तास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु हिजो राति १० बजे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी टोलीले घरधनी ५० वर्षीय उप्रेतीसहित ११ जनालाई पक्राउ गरेको हो । पक्रउा पर्ने अन्यमा ३५ वर्षीय कालीप्रसाद राजवंशी, ४६ वर्षीय राजन भट्टराई, ३१ वर्षीय दिलिपप्रसाद राजवंशी रहेका छन् ।

त्यस्तै, ५३ वर्षीय भानु दाहाल, २५ वर्षीय निरज रोक्का, २९ वर्षीय मनिष पौडेल, ३५ वर्षीय कुवेर मैनाली, २६ वर्षीय मनोज पौडेल, ३७ वर्षीय स्वस्तिक ओली र ३० वर्षीय प्रितम उप्रेती पक्राउ परेका छन् ।

प्रहरीले ११ जनासहित तास, नगद दुई लाख १५ हजार ५५० रुपैयाँ पनि बरामद गरेको छ । त्यस्तै, ९ थान मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बडादसैँ र तिहार लागेसँगै गाउँघर तथा सहरी क्षेत्रमा खुलेआम तास र जुवा खेल्ने क्रम बढे पनि प्रहरीले खासै नियन्त्रणमा लिन नसकेको गुनासो आउने गरेको छ ।







