
बिर्तामोड, जेठ १४ । झापाको बिर्तामोडमा एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई खुकुरी प्रहार गरेका छन् । हतियार प्रहारबाट उनीहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-१ वरपीपल चोकका ३६ वर्षीय बुद्धिलाल मुर्मुले पत्नी ३५ वर्षीया मला मर्डी र छोरी १५ वर्षीया विनिता मुर्मुमाथि खुकुरी प्रहार गरेका हुन् ।

घरायसी विषयमा विवाद हुँदा बुद्धिलालले खुकुरी प्रहार गरेर उनीहरुलाई घाइते बनाएका हुन् । खुकुरी प्रहार गरेर उनी भागेका छन् । प्रहरीले बुद्धिलालको खाजी गरिरहेको जनाएको छ ।

घाइते भएका मला मर्डी र विनिताको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।








