बिर्तामोड, जेठ १३ । झापाको गौरादहमा स्कुल बसले किचेर ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।

आज साँझ करिब ५ बजे गौरादह नगरपालिका वडा नम्बर ७, फगेटीभमा सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा अध्ययनरत ४ वर्षीय बालक आरोग्य चिमरियाको मृत्यु भएको हो। विद्यालयबाट फर्काएर घरमा ओराल्ने क्रममा बालकलाई बसले किचेको थियो।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गौरीगञ्जले बस र चालक गौरादहका ५७ वर्षीय लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई बुधबार साँझ ७ बजे पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








