
बिर्तामोड, असोज २४ । विश्वभर छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् ।

समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका झापा बाह्रदशीस्थित डाँगीबारीका चम्लागाईं यसअघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए । उनी ताप्लेजुङको फूलबारीदेखि झापा हुँदै श्रमिकको रुपमा कतार पुगेका थिए ।

उनले सन् २००३ मा कतारमा बुकसप सञ्चालनमा ल्याएका थिए । त्यसपछि उनले आयात निर्यातको काम गर्दै हाल कन्स्ट्रक्सनको व्यवसाय सञ्चालन गर्दै पाँच हजारजनालाई रोजगारी दिएका छन् ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्षसमेत रहेका चम्लागाईं झापाली समाज कतारका संरक्षक हुन् । उनको व्यावसायिक फर्म उडल्यान्ड कन्ट्राक्टिङ कम्पनी हो । चम्लागाईं नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिसमेत हुन् ।

त्यस्तै, समाजको वरिष्ठ उपाध्यक्षमा अस्ट्रेलियाका दिपक चुडाल निर्वाचित भएका छन् । सिड्नीमा केएफसी सञ्चालन गर्दै आएका उनी समाजको कोषाध्यक्ष थिए । त्यस्तै, उपाध्यक्षमा नविन पोखरेल, चूडामणि कार्की, उपाध्यक्ष (महिला) सीता पाण्डे निर्वाचित भएका छन् ।

महासचिवमा चिरण खवास, सचिवहरूः भवानीप्रसाद कोइराला, अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल र सहकोषाध्यक्षमा रविन गिरी निर्वाचित भएका छन् ।
त्यस्तै, क्षेत्रीय संयोजकहरूमा मध्यपूर्वमा केशव कार्की (कतार), युरोपमा लोकेन्द्र नेपाल (बेल्जियम), ओसियानिया निरञ्जन प्रसाईं (अस्ट्रेलिया) र अमेरिकामा आशिष संग्रौला (संयुक्त राज्य अमेरिका) रहेका छन् ।
त्यस्तै, क्षेत्रीय उपसंयोजकहरूमा मध्यपूर्वमा टिका ढकाल (ओमान), युरोपमा प्रकाश गिरी (नेदरल्यान्ड्स), अमेरिकामा डिल्ली थापा (संयुक्त राज्य अमेरिका) रहेका छन् ।
सन् २०२३–२०२५ का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रूपमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उपस्थित थिए । कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पत्रकार टिकाराम यात्री, डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्मा, संस्थापक अध्यक्ष दिनेश पोखरेल, एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्री, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत दिपक चुडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन नविन पोखरेलले गरेका थिए ।
अधिवेशनकै अवसरमा स्मारिका २०८२ पनि सार्वजनिक गरिएको थियो । समाजअन्तर्गत ४० राष्ट्रिय समिति रहेका छन् । समाजको स्थापना सन् २०१७ मा भएको हो ।







