
बिर्तामोड, कात्तिक २८ । झापाको बिर्तामोडमा रहेको मेची आँखा अस्पतालमा भइरहेको नेपाल अफ्थाल्मिक सोसाइटीको १६ औँ वार्षिक सम्मेलनअन्तर्गत आज प्रभातफेरी निकालिएको छ ।
अस्पतालबाट सुरु भएको प्रभातफेरी बिर्ताबजारमा आएर पुनः अस्पतालमै टुंगिएको सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशीले जानकारी दिए ।
अस्पतालको सभाहलमा हिजोदेखि सुरु भएको सोसाइटीको सम्मेलन भोलि सम्पन्न हुनेछ । अन्तर्राष्ट्रियस्तरको यस सम्मेलनमा देश र विदेशका आँखा रोग विशेषज्ञहरु सहभागी छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा वैज्ञानिक डा. सन्दुक रुइत, मेची आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पुरुषोत्तम जोशी, वरिष्ठ चिकित्सक डा. सुमन थापा र भारतीय वरिष्ठ चिकित्सक डा. ताराप्रसाद दासले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बताए ।
त्यस्तै, नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १० जना वरिष्ठ चिकित्सकहरुले सम्भाषण प्रस्तुत गर्ने र दर्जनौँ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
आँखा चिकित्साको क्षेत्रमा भइरहेका नयाँ प्रयोग र अनुसन्धानका निष्कर्षहरुलाई सम्मेलनमा प्रस्तुत गरिने भएकाले यसबाट नेपालका आँखा चिकित्सकहरु लाभ प्राप्त गर्ने मेची आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जोशीले बताए ।
सम्मेलनका लागि अस्पताल क्षेत्र आकर्षक रुपमा सजाइएको छ । मेची आँखा अस्पतालमा परिसरमा भएको कार्यक्रममा २७ औँ पूर्वाञ्चल क्षेत्रीय अफ्थाल्मिक सम्मेलन समेत सञ्चालन भइरहेको छ ।





