
बिर्तामोड, मंसिर २३ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ ।
आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र पुरुष तथा महिला ४० वर्षमाथिको विधा समावेश गरिएको छ ।

पुरुष तथा महिला खुला र पुरुष तथा महिला अन्डर १८ समूहमा सहभागीले १० किलोमिटर दौडिनुपर्ने स्थानीय प्रशिक्षक तथा प्रतियोगिताका सम्पर्क व्यक्ति प्रशान्त जिज्ञाशुले जानकारी दिए । त्यस्तै, पुरुष तथा महिला अन्डर १३ र र पुरुष तथा महिला ४० वर्षमाथिका सहभागीले ५ किलोमिटर दौड पूरा गर्नुपर्नेछ ।
पुरुष तथा महिला खुलाका विजेताले नगद १८ हजार, दोस्रोले नगद ११ हजार, तेस्रोले नगद ६ हजार तथा सातौँ स्थानसम्मका धावकले नगद १५०० रुपैयाँ पाउने छन् ।

त्यस्तै, पुरुष तथा महिला अन्डर १८ का विजेताले नगद ११ हजार, दोस्रोले नगद ७ हजार र तेस्रो हुनेले नगद ४ हजार पाउने जिज्ञाशुले जानकारी दिए ।
पुरुष तथा महिला अन्डर १३ र पुरुष तथा महिला ४० वर्षमाथिको विजेताले नगद ७ हजार ५००, दोस्रोले नगद चार हजार ५०० र तेस्रो हुनेले नगद दुई हजार ५०० पाउनेछन् ।




