
भद्रपुर, बैशाख ८ । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै एपिएफले क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो । एपिएफले क्वार्टर फाइनलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफ १–० गोल अन्तर बनाएको एपिएफले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो । पहिलो हाफको २८ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफको ४१ औँ मिनेटमा घिसिङले नै अर्काे गोल थपिन् । विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन् । खेलको ४२ औँ मिनेटमा एपिएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो । रश्मिकुमारी घिसिङको पासमा नगरकोटीले सुन्दर गोल गरिन् ।
खेलको ५२ औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् । उनले गरेको कडा प्रहारले पदमा स्पोर्टस् क्लबकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो । खेलको ५४ औँ मिनेटमा अनिता केसीले अर्काे गोल थपिन् ।
पदमा स्पोर्टस्की डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भएको थियो । ५६ औँ मिनेटमा रश्मिले अर्काे गोल थपिन् । डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन् ।
पदमा स्पोर्टस्ले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि स्कोर भने निकाल्न सकेन । खेलको ५४ औँ मिनेटमा पदमाकी पुष्पा खड्काले डिबक्सबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले मुस्किलले बचाएकी थिइन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रश्मिकुमारी घिसिङ भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि बुधबार हुने क्वार्टर फाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।






