
बिर्तामोड, जेठ १५ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविमा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ सम्पन्न भएको छ । विद्यालय र एलसिसिआइ ग्लोबल क्वालिफिकेसनको संयुक्त आयोजनामा कन्क्लेभ भएको हो ।

विद्यालयका विद्यार्थीहरूले क्याम्ब्रिज इङ्लिस एसेसमेन्टमा हासिल गरेको उत्कृष्ट सफलताको उत्सव मनाउन र विद्यालय तथा अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष माधवप्रसाद पौडेल, निर्देशक/प्रिन्सिपल सञ्जीव राई, डाइरेक्टर अफ एकेडेमिक एक्सेलेन्स सावित्रा सापकोटा लगायत विभिन्न विभागका प्रमुखहरू, संयोजकहरू, शिक्षक शिक्षिकाहरू र ठुलो संख्यामा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्यारेन्टिङ सेसनलाई प्रशिक्षक उर्वशी चौहान खड्काले सहजीकरण गरेकी थिइन् । उनले विद्यार्थीहरूको चौतर्फी विकासका लागि अभिभावक र विद्यालयबीचको सहकार्य र उचित मार्गदर्शनको महत्वबारे प्रकाश पारिन् ।

एलसिसिआइका प्रतिनिधि प्रविण ठाकुर चौधरीले क्याम्ब्रिज पाठ्यक्रम र यसले विद्यार्थीहरूलाई प्रदान गर्ने अवसरहरूका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

सोही अवसरमा एलसिसिआइका प्रतिनिधिद्वारा विद्यालयका प्रिन्सिपल तथा डाइरेक्टर अफ एकेडेमिक एक्सेलेन्सलाई सम्मान, नेतृत्व र प्रतिबद्धताको प्रतीकस्वरूप झन्डासमेत हस्तान्तरण गरिएको थियो ।
क्याम्ब्रिज इङ्लिस एसेसमेन्टमा उत्कृष्ट अङ्क ल्याउन सफल जेहेन्दार विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राईले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अर्नव कार्की, वृति सापकोटा, शरणीय खनाल, यथार्थ निरौला, रक्षा पन्त, सुरक्षा गिरी तथा अरुस श्रेष्ठले गरेका थिए ।
उत्कृष्ट विषयगत शिक्षक सम्मानित
२०८१ को एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने विषयगत शिक्षकहरूलाई कार्यक्रममा नगदसहित विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ऐच्छिक गणित शिक्षक केदारनाथ झा, कम्प्युटर साइन्सका विनोद प्रधान र विज्ञानका शिक्षक ईश्वर घिमिरे नगदसहित सम्मानित भएका हुन् । उनीहरुलाई विद्यालयका डाइरेक्टर प्रिन्सिपल सञ्जीव राई तथा एकेडेमिक प्रमुख सावित्रा सापकोटा राईले नगदसहित सम्मान गरेका हुन् ।







