२०८३ जेठ १५ शुक्रबार
Jhapa Today
Adv top

झापाका स्पामा काम गर्न आउँदै गरेका दुई थाई महिला पक्राउ


बिर्तामोड, जेठ १५ । झापाका स्पा र मसाज सेन्टरहरुमा थाइल्यान्डका महिलाहरुको प्रयोग हुन सक्ने आशंका गरिएको छ । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई थाई महिला पक्राउको घटनाले अशंका गरिएको हो ।

अध्यागमनको नक्कली कागजपत्रसहित काँकरभिट्टा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई थाई महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । दुई थाई महिलालाई पानीट्यांकी बोर्डर चेकपोस्टको नयाँ मेची पुलबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ४३ वर्षीया पिम्चानोक केतला र ३८ वर्षीया मिस चिन्तारा बुद्धफोङ रहेका छन् । नक्कली कागजपत्र बनाएर उनीहरु झापा प्रवेश गर्ने क्रममा थिए । ४१ औँ बाहिनी एसएसबी, रानीडाँगाको बोर्डर इन्टरएक्सन टिम बिआइटी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि बैशाखको अन्तिम साता पनि नेपाल–भारत सीमामा दुई थाई नागरिकसहित चारजना पक्राउ परेका थिए । झापामा पछिल्लो समय थाई मसाजका नाममा यौन कार्य हुने गरेको प्रहरीले जनाएको छ ।

एक साताअघि प्रहरीले बिर्तामोडका ९ वटा स्पा र मसाज सेन्टरमा छापा मारेको थियो । सोही क्रममा कर्मा स्पाबाट सञ्चालिकासहित तीनजनालाई पक्राउ गरिएको थियो ।

Adv footer