
बिर्तामोड, जेठ १५ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । भारतबाट लागुऔषध लिएर नेपाल आउँदै गरेका आमाछोरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत किसनगञ्जको सिङ्गीमारी पञ्चायत-४ बस्ने ३६ वर्षीया रुकमणि देवी र उनकी १६ वर्षीया छोरी रहेका छन् ।

हिजो साँझ ६ः४५ बजे गौरीगञ्ज २ आँपगाछी सीमामा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री आमाछोरी पक्राउ परेका हुन् । रुकमणि लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

त्यस्तै, प्रहरीले मेचीनगर-६ पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका मेचीनगर ३ बस्ने ३२ वर्षीय दुखु मियालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

उनको साथबाट २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो । लागुऔषध र साइकलसहित उनलाई नियन्त्रणमा लिएर काँकरभिट्टा प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







