
बिर्तामोड, जेठ १८ । हाल नेपालको मौसममा विभिन्न वायुप्रणालीको मिश्रित प्रभाव देखिएको छ । सोही कारण पूर्वी नेपालमा एकाबिहानैदेखि चर्को घाम लागेको छ । झापामा अहिले बिहान ०६ः३० बजेको तामक्रम २८ डिग्री सेल्सियस छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय रहेको छ ।

यी तीन मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली भएको छ ।

देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लागेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज सोमबार पनि देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने देखिन्छ । देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बदली हुनेछ ।

यो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मौसम बिग्रने सम्भावना छ ।
महाशाखाका अनुसार ती क्षेत्रहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।







