
बिर्तामोड, जेठ १८ । काठमाडौँबाट लागुऔषध ब्राउन सुगर लिन पूर्वी नाका काँकरभिट्टा आइपुगेको दुईजना युवा प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई हिजो पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा काठमाडौँ शंखरापुर नगरपालिका वडा नम्बर-८ बस्ने ३२ वर्षीय रोशन कार्की छन् । उनी हिजो दिउँसो १.३० बजे काँकरभिट्टाबाट पक्राउ परेका हुन् ।

लागुऔषध ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले कार्कीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनले लगाएको बक्स पेन्टको दाहिनेपट्टिको गोजीमा ४८ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । कार्कीले प्रयोग गर्ने आइफोन १६ प्रोम्याक्स र ८ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ ।

यसअघि जेट १० गते काठमाडौँ महानगरपालिका–२५ असनचोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाडौँ–२३ ओमबाहल टोल बस्ने ३७ वर्षीय सुशील मानन्धर ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

पछिल्लो समय झापाका काँकरभिट्टा, भद्रपुरका साथै ग्रामीण नाकाहरु झापा बजार, गौरीगञ्ज, केचनाबाट लागुऔषध नेपाल भित्रिने गरेको छ । पूर्वी नाका काँकरभिट्टा लागुऔषध ओसारपसारको लागि देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको छ ।







