२०८३ जेठ १८ सोमबार
Jhapa Today
Adv top

झापाका तीन बक्सरलाई हेटौँडामा पदक


बिर्तामोड, जेठ १८ । बागमती प्रदेशको मकवानपुरमा भएको तीन दिने खुला बक्सिङ प्रतियोगितामा झापाका तीनजना बक्सरले पदक प्राप्त गरेका छन् ।

झापामा अग्रज बक्सिङ प्रशिक्षक डम्बर लिम्बुका अनुसार झापाका तीनजना खेलाडीले मकवानपुरको हेटौँडा–४ स्थित हेटौँडा कभर्ड हलमा सम्पन्न अल नेपाल ओपन यु–२२ ओपन बक्सिङ च्याम्पियनसिपमा पदक प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा अञ्जन मल्लले स्वर्ण पदक प्राप्त गरे । उनी १९ वर्षमुनि विधामा सहभागी थिए ।

उनले फाइनलमा सुनसरीका असिम लिम्बूलाई हराउँदै प्रथम भएका थिए । अञ्जन ६५ केजी तौल समूहबाट प्रतियोगितामा सहभागी भएको प्रशिक्षक लिम्बुले जानकारी दिए ।

त्यस्तै, झापाका प्रतिक गौतमले रजत पदक प्राप्त गरेका छन् । यु–२२ विधामा सहभागी उनी सुनसरीका सिंहवीर लिम्बुसँग फाइनल राउन्डमा पराजित भए । उनी ५५ केजी समूहबाट सहभागी भएका थिए ।

त्यस्तै, युवराज भट्टराई कास्य पदकमा सीमित भए । यु–२२ विधामा ५० केजी समूहबाट प्रतिस्पर्धी बनेका भट्टराई सेमिफाइनलमा आयोजक हेटौँडामा फुङलाङ काम्बाङसँग पराजित भएको प्रशिक्षक लिम्बुले बताए ।

Adv footer