२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वराजारानी लकडाउनको पालना गर्दै दमकमा


दमक, चैत २५ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन् ।उनको निजी सचिवालयका अनुसार लक डाउन अवधिभर पूर्वराजपरिवार झापामै रहनेछ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट लक डाउन घोषणा गरेलगत्तै उनीहरु झापामै रोकिन पुगेका हुन् । पूर्वराजाका निजी सचिव सागरराज तिमिल्सिनाका अनुसार भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँहरूको भ्रमण गरेर नेपाल फर्किने क्रममा झापा आइपुग्दा लक डाउन भएपछि उनीहरु त्यसको पालना गर्दै दमकमा बसेका हुन् ।

तिमिल्सिनाले पूर्वराजाले अरुलाई पनि लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको बताए । उनका अनुसार पूर्वराजारानी दुवैले सामाजिक दूरी कायम गर्ने, स्यानिटाइनरलगायत पटकपटक हात धुने, सामुहिक छलफल नगर्नेलगायत निर्देशन दिइरहेका छन् । जसका कारण सचिवालयका सदस्यहरूले पनि पूर्वराजारानीलाई भेट्न मुस्किल परिरहेको उनको भनाइ छ ।

पूर्वराज परिवारले हिमानी कोषमार्फत सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको तिमिल्सिनाले जानकारी दिए । यसअघि पूर्वराजा शाहले विज्ञप्तिमार्फत विपत्तिका बेला सबै एकजुट भएर सामना गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer