२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

वीरता जेसिजद्वारा धनकुटामा खाद्यान्न वितरण


बिर्तामोड, असार १८ । कोभिड महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक र खाद्यान्न समस्यामा परेको विपन्न परिवारलाई वीरता जेसिजले चामल वितरण गरेको छ ।

वीरता जेसिजले धनकुटा–६ स्थित जेसिज गाउँका २२ परिवारलाई राहतस्वरुप चामल र छोराछारीलाई शैक्षिक सामग्री प्रदान गरेको अध्यक्ष राजीव धिमालले बताए ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्व बन्धुत्वको भावना बढाउन वीरता जेसिजले धनकुटा लेडी जेसिजको समन्वयमा उक्त राहत प्रदान गरेको हो ।

अध्यक्ष धिमालका अनुसार वीरता जेसिजले यस वर्ष कोभिडका कारण समस्यामा परेका परिवारलाई राहत वितरणदेखि दीर्घकालीन योजनाका विविध कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि जहाँ अभाव र समस्या त्यहाँ वीरता जेसिज भन्ने अभियान नै सञ्चालन अघि बढाइएको छ ।

यसअघि वीरता जेसिजले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भनेर झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकमा ५ वटा सिलिन्डर बापत ७५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

धनकुटा–६ का वडा अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको राहत प्रदान कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष काजीलाल राईले धन्यवाद ज्ञापन, धनकुटा लेडी जेसिजकी अध्यक्ष बिसिका श्रेष्ठले औचित्यमाथि प्रकाश र संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा वीरता जेसिजको तर्फबाट अध्यक्ष धिमाल, पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जेसिजका अन्तर शाखा संयोजक तथा नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्का लगायतको सहभागिता थियो ।

धनकुटा लेडी जेसिजको सहयोगमा यसै वर्ष उक्त स्थानका अति विपन्न २२ परिवारको घर निर्माण भएको हो । गत फागुन १९ गते जेसिज गाउँको निर्माण सम्पन्न भएको थियो । धनकुटा लेडी जेसिजकी संस्थापक अध्यक्ष श्रेष्ठको संयोजकत्वमा जेसिज गाउँ बनाउने अभियान सम्पन्न भएको थियो ।

Adv footer