बिर्तामोड, भदौ ५ । झापा चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पाएको छ ।
देशमै सबैभन्दा बढी सेयर सदस्य संख्या रहेको सहाराले सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेको हो ।
सहारासँगै कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्थाले पनि सो प्रमाणपत्र पाएको छ । यी दुवै संस्था स्वावलम्बन विकास केन्द्रका सदस्य रहेका छन् ।
यो प्रमाणपत्र संस्थाका सदस्यको लागि सुरक्षित छ भनेर अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पेनिङ संस्थाबाट निर्धारण गरिएका ७ वटा मापदण्ड र १९८ वटा सूचकहरु पालना भए नभएको स्वतन्त्र मूल्यांकनको आधारमा प्रदान गरिन्छ ।
यो प्रमाणपत्र प्रदान गर्नुअघि संस्थाले प्रदान गर्ने सेवाको पारदर्शिता, संस्थाको आत्मनिर्भरता वा मुनाफा आर्जन, उपयुक्त योजना निर्माण र कार्यान्वयन भए/नभएको हेरिन्छ ।
त्यस्तै, समस्या समाधानको संयन्त्र, सदस्यहरुको सूचनाको गोपनीयता, संस्थाले सदस्यप्रति गर्ने न्यायपूर्ण र सम्मानजनक व्यवहार र जिम्मेवारपूर्ण लगानी तथा सदस्य प्रति जवाफदेहीतालगायत सूचकहरुको मूल्यांकन गरिन्छ ।
पूर्वका छवटा जिल्लामा सेवा तथा कारोबार गर्दै आएको सहारामा हाल १ लाख ५२ हजार सदस्य छन् । सहारामा ७४ वटा सेवाकेन्द्रमार्फत ५०० जना कर्मचारीले सेवा दिँदै आएका छन् ।
सहाराले यो वर्ष आफ्ना सेयर सदस्यहरुलाई लाभांश र संरक्षित पुँजीकोषबाट २५ करोड ६३ लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव साधारणसभामा लैजाने तयारी पनि गरेको छ ।
गत आर्थिक वर्षमा करिब ५० करोड रुपैयाँ नाफा गरेको सहाराले आफ्ना सदस्यलाई ३ लाख रुपैयाँसम्म कोरोना उपचार खर्च उपलब्ध गराउने योजना अघि सारेको छ ।