बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ ।
संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक साधारणसभामा अध्यक्ष कृष्ण पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको निक्षेप प्राप्ति र भुक्तानी २० करोड ४७ लाख ५४ हजार ८ सय ५९ रुपैयाँ, कोष १ करोड ६३ लाख ८२ हजार ४ सय ९९ रुपैयाँ ६४ पैसा, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ, ऋण लगानी ३१ करोड १२ लाख १६ हजार ७ सय ३० रुपैयाँ रहेको छ ।
संस्थाले बचत तथा ऋणको अतिरिक्त व्यवसायको क्षेत्र विस्तार गर्दै लगेको जनाएको छ । बचत तथा ऋणसँगै सुपथ मूल्यको कृषि सहकारी पसल तथा सामुदायिक विद्युतीकरण र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
धौलागिरीको जयपुरमा यस अघिदेखि नै डिपार्टमेन्ट स्टोर सञ्चालनमा थियो भने यस आर्थिकमा भद्रपुरको पुहाँतुबारीमा सुरु भइसकेको छ । निकट भविष्यमा बिर्तामोडमा मुख्य गोदाम रहनेगरी अर्जुनधारा नगरपालिकाको सिस्ने र भद्रपुरस्थित ज्ञानेचोकमा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
त्यस्तै, धौलागिरीले बाह्रदशी गाउँपालिकाको गोलधापमा कृषिसम्बन्धी सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्दै आएको छ । कृषकहरुलाई उत्प्ररित गर्ने उद्देश्यले कृषिजन्य उपज प्रशोधन उद्योग सञ्चालन गर्न साधारणसभामा प्रस्ताव गरिएको अध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार यस उद्योगले कृषकहरुबाट कृषिजन्य उत्पादन गरी प्रशोधन गरेर बजारीकरण गर्नेछ ।
त्यस्तै, शेयर सदस्यहरुलाई सहज र सुपथ मुल्यमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले फार्मेसी तथा डाइग्नोस्टिक सेवा सञ्चालन गर्ने संस्थाको योजना रहेको बताइएको छ । यो सेवाअन्तर्गत सदस्यहरुले सुपथ मूल्यमा औषधि, ल्याब टेस्ट तथा अन्य डाइग्नोस्टिक सेवा पाउने अध्यक्ष पौडेलको भनाइ छ । यो सेवालाई विस्तारगरी अस्पतालमा परिणत गर्ने संस्थाको दीर्घकालीन योजना रहेको उनले बताए ।
संस्थाले सदस्यहरुलाई प्रविधीमैत्री बनाउन धौलागिरी मोबाइल बैंकिङ सेवा सञ्चालन गर्ने, एक सहकारी एक सदस्यको नीतिअनुरुप अगाडि बढ्ने साथै अन्य सहकारीहरुसँग एकीकृत गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा धौलागिरीले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने दुईजना कर्मचारी र एउटा सेवाकेन्द्रलाई पुरस्कृत तथा सम्मान गरेको छ । जयपुर सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रको रुपमा सम्मान गरिएको छ भने सोही केन्द्रका प्रमुख कुलप्रसाद पाण्डेलाई स्टाफ अप दि इयर २०७७ बाट नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । त्यस्तै, लक्ष्मीपुर सेवाकेन्द्रमा कार्यरत बजार प्रतिनिधि दुर्गा भट्टराई अधिकारीलाई स्टार अफ दि इयर २०७७ बाट नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा सहकारीकर्मी, शैलेन्द्र कुरुम्बाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष डिल्ली ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव किशोर भट्टराईले गरेको थिए ।