२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इलामको रोङमा २९ किलोमिटर करसोङ पदमार्ग निर्माणनजिक


बिर्तामोड, पुस ४ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसाथ इलामको रोङ गाउँपालिकामा पदमार्गको निर्माण भइरहेको छ ।

गत वर्ष कात्तिकबाट सुरु गरिएको पदमार्गको नाम करसोङ पदमार्ग राखिएको छ । स्थानीय लेप्चा भाषामा सुनाखरीलाई करसोङ भनिन्छ । रोङमा लेप्चाको बाहुल्यता रहेको र पदमार्ग रहेको वनमा अत्यधिक सुनाखरी भएकाले मंसिर २१ गतेको कार्यपालिका बैठकले पदमार्गको नाम करसोङ जुराएको वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्ता मणिकुमार स्याङबो (सुवास) ले जानकारी दिए ।

स्याङबोकै अगुवाई र योजनामा पदमार्ग निर्माण भइरहेको हो । २९ किलोमिटर लम्बाई रहेको पदमार्गको प्रथम चरणअन्तर्गत १६ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । रोङ–३ बाट रोङ–५, रोङ–६ हुँदै मेची नदी र मेचीनगर–१ निन्दा सिरानसम्म रहेको पदमार्गको १३ किलोमिटर बाटो यही आर्थिक वर्षमा बनाइसकिने छ ।

गत वर्ष संघीय सरकारले १५ लाख, गाउँपालिकाले १५ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाख गरी ४५ लाख रुपैयाँको लागतमा पदमार्ग, भ्युटावर, होमस्टे लगायतका पर्यटकीय स्थलहरुको निर्माण गरिएको हो ।

चालु आर्थिक वर्षमा संघीय सरकारले ६२ लाख, गाउँपालिकाले २० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम र क्षेत्रीय पर्यटन कार्यालय काँकरभिट्टाले गरी कुल १ करोड २० लाख रुपैयाँको बजेटमा काम अघि बढेको स्याङबोले बताए ।

पदमार्गमा मुख्य आकर्षण केन्द्रका रुपमा हाँसपोखरी, चिन्डेपानी, गुगल डाँडा, देउराली डाँडा, दैले, लामा डाँडा, झन्डी डाँडा, सत्तालसेन टाकुरा, गुरुधुम डाँडा, भीमसेन ढुङ्गा, मेची सिद्धि दोभान, इन्द्रेणी झरना, सलकपुर, चिसापानी लगायतका स्थान रहेको वडा अध्यक्ष स्याङबो बताए ।

त्यस्तै, झन्डी डाँडाबाट सूर्याेदय र सूर्यास्त हेर्न सकिन्छ भने पदमार्गको केही विन्दुहरुबाट झापाको फाँट प्रस्ट देख्न सकिन्छ । सलकपुरमा सुन्तलाको आनन्द लिन सकिन्छ भने सो पदमार्ग क्षेत्रमा विद्यार्थीका लागि वनस्पती विज्ञानको अवलोकन, प्राकृतिक सुन्दरता, माहुरी (सेरेना जात) को अवलोकन गर्न सकिन्छ ।

पदयात्रीहरुका लागि विभिन्न स्थानमा होमस्टे पोइन्ट बनाइएको छ । मझुवा, चिसापानी, जौबारी, रम्भ्याङ, सलकपुर, पाटापुरमा होमस्टे रहेको छ । त्यस्तै, जस्केलो सामुदायिक होमस्टेअन्तर्गत दर्ता भएका १८ घरसहित २५ घरमा हामस्टे सञ्चालन हुँदै आएको छ ।

होमस्टे प्रबर्द्धन गर्न कारितास नेपालले आर्थिक सहयोग गर्दै आएको छ । साथै, स्थानीय सरकारले समेत प्रबद्र्धन गर्दै गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पदमार्गलाई प्रबर्द्धन गर्ने उद्देश्यले यो आर्थिक वर्षमा फुड फेस्टिबल (पुस १० र ११ गते), साइक्लििङ (माघ) औपचारिक उद्घाटनको कार्यक्रम बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer