झापा, माघ १७ । अर्जुनधारा जेसीजको नवौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ का अध्यक्ष जीवनकुमार खनालले सन् २०२२ का अध्यक्ष भीमबहादुर कुँवर (राजु) लाई पद हस्तान्तरण गरिएको हो ।
सन् २०२१ का अध्यक्ष जीवन खनालको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा सूर्योदय टेलिभिजनका समाचार संयोजक तिलक योञ्जनलाई नगदसहित भीमबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो । उक्त पुरस्कार अर्जुनधारा जेसीजका संस्थापक इन्दिवर खड्काले स्थापना गरेका हुन् ।
यस्तै, अर्जुनधारा ८ का तेक्वान्दो खेलाडी (सेकेण्ड पुम) अभुदय वीरविक्रम भट्टराईलाई राधाकृष्ण उत्कृष्ट खेलाडी सम्मान प्रदान गरिएको छ । यस सम्मानको स्थापना सन् २०१४ का अध्यक्ष बसन्त सोमानीले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सामाजिक कार्यमा सहकार्य गर्नका लागि अर्जुनधारा जेसीज शनिश्चरेलाई आह्वान गरेका छन् ।
वर्तमान अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा ५० जना विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्ने उद्घोष गरेको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमार सिंह साँवा, पूर्व कार्यकारी उपाध्यक्ष विनोद बस्नेत, संस्थापक अध्यक्ष खड्कालगायतले नयाँ समितिलाई बधाइ ज्ञापन गर्दै नयाँ जोशका साथ सामाजिक कार्य गर्नका लागि सफलताको शुभकामना दिएका थिए ।
सन् २०२१ मा उत्कृष्ट जेसी घोषित भएका महासचिव प्रेमकुमार खड्काले कोभिड संक्रमणले ज्यान गुमाएका दाजु नवराज खड्काको स्मृतिमा नवराज खड्का स्मृति प्रतिष्ठान स्थापना गर्ने घोषणा गरे । उनले यसवर्ष जेसीजमार्फत १ लाखबराबरको सामाजिक कार्य गर्ने घोषणा पनि गरेका छन् ।
सन् २०२२ का लागि अध्यक्ष भिमबहादुर कुँवर (राजु)को नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मतरुपमा चयन भएको छ । जसको कार्यकारी उपाध्यक्षमा विमला भट्टराई र प्रेमकुमार खड्का चयन भएका छन् । त्यस्तै, चार उपाध्यक्षमा पनि सर्वसम्मत भएको थियो ।