२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भोलिदेखि मौसममा सुधार हुने


झापा, माघ २१ । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेपछि आज दिउँसोदेखि मौसममा सुधार हुँदै गएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा भएको मानन्धरले बताइन् ।

आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भएका छ । हिजो परेको पानीको प्रभावले भोलि बिहान हुस्सु लागे पनि त्यसपछि मौसम खुल्ने उनको भनाइ छ ।

भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति र हिजो भएको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । चिसो बढ्दा घरबाहिर निस्कन समेत समस्या भएको छ ।

त्यस्तै, हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएको छ । अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ । जनजीवन प्रभावित भए पनि हिउँदे वर्षा र हिउँका कारण किसान भने खुसी भएका छन् ।

माघमा परेको हिउँ र वर्षाले हिउँदे बाली सप्रने किसान बताउँछन् । विशेषगरी लेकाली क्षेत्रका बालीनालीका लागि हिउँदे झरी र माघमा परेको हिउँ महत्वपूर्ण मानिन्छ । यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ ।

गएको वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष हिजो बिहान आठ बजेसम्म नै ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियो ।

हिजो देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer