बिर्तामोड, चैत ६ । पाँचौँ झापा गोल्ड कप प्रतियोगिता सञ्चालनका क्रम फोहोर रहेको डोमालाल राजवंशी रंगशालाको सरसफाइ गरिएको छ ।
अघिल्ला संस्करणमा भन्दा योपटक झापा गोल्ड कपले रंगशाला संरक्षणमा ध्यान दिँदै आज (आइतबार) बिहान स्थानीय बिर्ताबजार सामाजिक युवा क्लबको अगुवाइमा रंगशाला सरसफाइ गरिएको युवा परिवारका सचिव मदन राईले बताए ।
गोल्ड कप सकिएलगत्तै सरसफाइ गर्ने योजना भए पनि बीचमा सन्थाल समुदायको सांस्कृतिक कार्यक्रम भएकाले प्रतियोगिता सकिएको छैटौँ दिन रंगशालाका फोहोर टिपिएको होे ।
सरसफाइ कार्यमा युवा परिवारमा सदस्यहरु, सन्थाली युवाहरु र झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतसहित सदस्यहरु जीवन खड्का, सञ्जीव घिमिरे, प्रशान्त भण्डारी, यादव पोखरेल, कार्यालय सचिव चन्द्रबहादुर तिम्सिना, बिर्तामोड सफाइ अभियानका अभियन्ता विष्णु आचार्यलगायतको सहभागिता रहेको थियो ।