बिर्तामोड, चैत ८ । हिजो साँझ पूर्वी तराईमा सामान्य वेगसहित वर्षा भए पनि आज पहाडी क्षेत्रको मात्र मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार आज दिउँसोपछि प्रदेश–१ का पहाडी क्षेत्रका एक÷ दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।
भोलि भने प्रदेश–१ सहित बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, पर्सिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।