बिर्तामोड, चैत १८ । बिर्तामोडमा सम्पन्न वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।
आज बिर्तामोडको एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नम्बर ३ च्याम्पियन बनेको हो ।
जितसँगै वडा नम्बर ३ ले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडा नम्बर ५ ले नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ३ का प्रविन गुरुङ, उत्कृष्ट गोलरक्षक विजेता टिमका अनिस सुवेदी, उदीयमान खेलाडी एरोन मगर भएको सचिव वेदप्रकाश अग्रवाल विशालले जानकारी दिए ।
त्यस्तै, उच्च गोलकर्ता राम लिम्बू भए । उनले प्रतियोगिताभरि आठ गोल गरे । उनी भ्वाइस अफ नेपालका विजेता पनि हुन् ।
विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, वडा सदस्य डिआर कडरिया, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेन, वडा नम्बर ४ का वडा सदस्य राहुल शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेलले उद्घाटन गरेका थिए । वडा नम्बर ५ को वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।