बिर्तामोड, बैशाख २१ । हरेक मानिसका सपना हुन्छन् । धेरैका पूरा हुँदैनन् । सपना र इच्छा पूरा गरिदिन कहिलेकाहीँ कोही ‘सपनाको झिल्को’ जसरी आइदिन्छन् ।
झापा बाह्रदशीकी पूजा सोरेनको जीवनमा यस्तै सपनाजसरी एकजना सेवी खडा भइदिएका छन् । सामाजिक कार्यमा अग्रसर बिर्तामोडका केदार गिरीको सहयोगले पूजाको जीवनले सुनौलो मार्ग कोर्दैछ ।
खर्च अभावमा आफूले इच्छा गरेको विषय पढ्न नपाउने भय उनलाई निक्कै थियो । केदारले नै निर्माण गर्दैगरेको चारपाने–राजगढ सडकमा ढुंगा बोक्ने पूजालाई त्यही काम गर्दागर्दै इन्जिनियर बन्ने हुटहुटी जाग्यो । र, उनको इच्छा तिनै केदारले पूरा गरिदिँदैछन् ।
स्थानीय पशुपति माविबाट १२ उत्तीर्ण पूजा खर्च अभावमा मजदूरी गर्दै आएकी थिइन् । संयोगले निर्माण व्यवसायी केदारसँगको भेटले उनको पढ्ने इच्छा पूरा भएको छ । अगाडि नै उनले पूजालाई पढाइमा सहयोग गर्ने वाचा गरेका थिए ।
आफ्नो जन्मदिनको अवसर पारेर केदारले पूजाको घरमै पुगेर पढाइ खर्चबापतको ८० हजार रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्मदिन पनि पूजाकै घरको आँगनमा केक काटेर उनकै हातबाट केक खाएर मनाएका छन् ।
२१ वर्षीया पूजा बिर्तामोडको सिद्धकाली टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङ पढ्दै छिन् । उनको सम्पूर्ण पढाइ खर्चको जिम्मा समाजसेवी तथा व्यवसायी केदारले जिम्मा लिएका छन् ।
पछाडिएको समुदायकी महिलालाई समाजमा अग्रणी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ आफूले सहयोग गरेको केदारले बताए । उच्च शिक्षाका लागि पूजालाई पछि पनि सहयोग गर्ने उनको प्रतिबद्धता रहेको छ ।
नगद सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष नवीन गट्टानी, पूर्वअध्यक्ष राजकुमार पोखरेल, समाजसेवी रुपक थापाको उपस्थिति रहेको थियो ।