
बिर्तामोड, जेठ १० । तयारी अभावको कारण देखाउँदै सारिएको नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने भएको छ ।
यसअघि मन्त्रिपरिषदको निर्णयले जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता गर्ने भनेको थियो । युवा तथा खेलकुद मन्त्रायलयमा मंगलबार पत्रकार सम्मेलन आयेजना गर्दै सो जानकारी दिइएको हो ।

युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वरजंग गहतराजले नवौँको लागि खेलाडी छनोट प्रक्रिया अघि बढिसके पनि त्यसबाहेक बजेट कार्यान्वयनको लागि सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने भएपछि समय नपुगेको स्थिति सिर्जना भएपछि सार्नपरेको बताए ।

मन्त्री गहतराजले असार र असोजको पहिलो र दोस्रो साताको लागि पनि समय हेरे पनि त्यो समयमा मौसमकै कारण हुन नसक्ने भएपछि असोज अन्तिम र कात्तिक पहिलो साता गर्ने निर्णय गरिएको जानकारी गराए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौँ सर्न या रोकिन अब त बहाना बन्ने ठाउँ नै नरहेको बताए । सदस्यसचिव घिसिङले भने, ‘६० करोड नबढाएर सिलिङ भित्र खर्च गर्नको लागि बजेट आएको छ ।’

वैशाख ९ गते बसेको राखेपको ११२औँ बोर्ड बैठकले ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी गरी ३८ खेल नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्ने निर्णय गरेको थियो ।
बैशाख २४ गते नवौँ राष्ट्रिय खेलकुद खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको थियो । जेठ १० गतेभित्र टिम दर्ताका लागि समय सिमा तोकेको थियो ।
नवौँमा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र सशस्त्र प्रहरी) र एनआरएनए गरी ११ टोलीले नवौँ राष्ट्रिय खेलकुदमा भाग लिने यसअघि नै राखेपले सार्वजनिक गरिसकेको छ ।