बिर्तामोड, साउन १८ । अर्जुनधारा–८ को शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि (सीएम) खनालले गरेको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ ।
विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको तथा उनको प्रत्यक्ष संलग्नतामा चरम आर्थिक अनियमितता भएको विद्यालयको शिक्षक–अभिभावक संघद्वारा सामाजिक परीक्षण प्रतिवेदन अध्ययन उपसमिति बनाएर अनियमितताबारे गहिरो अध्ययन गरेको थियो ।
उनले अध्यापन नै नगरी गैरकानुनी रूपमा तलब र भत्ता बुझेकोदेखि रकम उल्लेख नगरी भर्पाइ बनाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिले स्थलगत अध्ययन गरी खनालले शैक्षिक सत्र २०७८ मा ११ र १२ कक्षामा एउटै कक्षा नपढाएको तथ्य फेला पारेर प्रतिवेदनमा उल्लेख गरिएको छ । जसको अर्को प्रमाण शैक्षिक सत्र २०७८ मा कक्षा ११ र १२ को उनीद्वारा नै बनाइएको दैनिक अध्यापन तालिकामा एउटै पिरियड ‘तेस्रो’ मा कक्षा ११ र १२ दुवै विषयमा खनालले आफ्नो नाम राखेको पाइएको छ । सोबारेमा विद्यालयका सबै सरोकारवाला जानकार छन् ।
खनालले आफू प्रधानाध्यापक भएयता शैक्षिकसत्र २०७६ देखि दुई पिरियड नपढाइकन मासिक रूपले २ पिरियडको दरले रकम र थप गैरकानुनी भत्तासमेत गरी २ लाख ६१ हजार ६ सय र २०७८ मा एकै पिरियड नपढाई ३ पिरियडका दरले भत्तासहित २ लाख ९ हजार ३ सय गरी कुल ४ लाख ७ हजार ९ सय रुपैयाँ बुझेको पाइएको छ ।
यसबारे खनालले भने, ‘विद्यालयमा कक्षा ११ र १२ मा विगतदेखि नै स्वास्थ्य र शारीरिक शिक्षाको पठनपाठन हुने गरेको र उपलब्ध शिक्षकहरूबाट कक्षा सञ्चालन हुने गरेको थियो । विषयगत शिक्षकको अभाव हुने देखेपछि उक्त विषयको पठनपाठन बन्द गर्ने निष्कर्षमा विद्यालय पुगेको हो ।’
उनले प्रतिवेदनमा लगाइएको आरोपप्रति खण्डन गर्दै आरोप निराधार भएको दाबी गरेका छन् । खनालले भने विद्यार्थीले अध्ययन नगर्ने यस किसिमका विषयहरूमा विद्यार्थी संख्या कम हुनाले यदाकदा अनियमितता हुनु सामान्य विषय रहेको जनाएका छन् ।