बिर्तामोड, कात्तिक १७ । नेपालले बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा भुटानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
भुटान यसअघि पहिलो खेलमा पनि बंगलादेशसँग हारेको थियो । ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।
भुटानविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो । चारै गौल वर्षा ओलीले गरेकी थिइन् । दोस्रो हाफमा सुक्रिया मियाले दुई तथा सेनु परियारले एक गोल गरिन् ।
पहिलो मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । १७ औँ मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् ।
खेलको ३४ औँ मिनेटमा वर्षाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता तेब्बर बन्यो । लगत्तै ३५ औँ मिनेटमा वर्षाले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् ।
६५ औँ मिनेटमा सुक्रियाले गोल गर्दा नेपालको अग्रता ५–० को बन्यो । खेलको ६७ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो । डिबक्स भन्दा बाहिर आएर बल रोकेपछि भुटानी गोलकिपर दिक्षिता राईले रातो कार्ड प्राप्त गरिन् ।
खेलको ७२ औँ मिनेटमा सुक्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को अग्रता दिलाइन् । त्यसपछि खेलको ८५ औँ मिनेटमा सेनुले गोल गर्दै नेपाललाई ७–० को जित दिलाइन् ।
जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।
भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो । अब नेपालले ५ नोभेम्वरमा बंगलादेशसँग खेल्नेछ ।
त्यसपछि ९ नोभेम्वरमा भुटान तथा ११ नोभेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । धेरै अंक प्राप्त गर्ने टोली च्याम्पियनसिपको च्याम्पियन बन्नेछ ।