बिर्तामोड, कात्तिक २३ । बंगलादेशमा जारी साफ यु१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल लगातार तेस्रोपटक विजयी भएको छ ।
नेपालले तेस्रो जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै नेपाल शीर्षस्थानमा रहँदै उपाधि नजिक पुगेको हो ।
बंगलादेशको ढाकामा बुधबार भएको खेलमा नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औँ मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।
राउन्ड रोबिन लिगको पहिलो खेलमा ७–० को फराकिलो जित निकाले पनि नेपालले राउन्ड रोबिनको दोस्रो खेलमा भुटानको बलियो रक्षापंक्ति चिर्न नसक्दा कम गोलअन्तरमा रोकिन पुग्यो ।
यस जितसँगै नेपालको ३ खेलबाट ९ अंक पुगेको छ । समान खेलबाटै बंगलादेशको ६ अंक छ । लगातार चौथो खेलमा हार भोगेको भुटान गोल र अंकविहीन हुँदै बाहिरिएको छ ।
अब नेपाललाई च्याम्पियन बन्न राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरीको नतिजा नै पर्याप्त हुनेछ । नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ ।
३ राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन पद्धतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ ।