२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

आज मध्यरातबाट मौन अवधि, उल्लंघन गरे २५ हजार जरिवाना


बिर्तामोड, मंसिर १ । मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागु हुँदैछ ।

निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागु रहन्छ ।

आउँदो आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ ।

यस अवधिमा चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

यसैगरी मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

शून्य समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा सेयर गर्न वा गराउन हुँदैन ।

ऐनअनुसार प्रावधान विपरीतको कार्य गर्नेलाई निर्वाचन आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।

Adv footer