बिर्तामोड, मंसिर ९ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश–१ लाई जितका लागि २७० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ रन बनाएको हो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले १०५ बलमा १० चौका र ९ छक्काको सहयोगमा अविजित १४२ रनको शतकीय इनिङ खेले ।
कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रनमा रन आउट भए । अर्थब पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरे । प्रदेश १ ले २७ रन बागमतीलाई अतिरिक्तको रुपमा दिएको थियो ।
प्रदेश १ का लागि कप्तान दिपेश कँडेल र विपिन महतोले समान २÷२ तथा अभिनय राजवंशी, आशिष मगर र सोनु अन्सारीले समान १÷१ विकेट लिएका थिए ।
पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छन् ।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन् ।